Wednesday, July 23, 2014

सच्चा क्रान्तिकारी बामपन्थी पिता कमरेड पुष्पलाल

कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता हुनुहुन्छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकार पनि हुनुहुन्छ। वि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्म भई २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवंगत हुनुभएका क. पुषलाल श्रेष्ठ राणा विरोधी आन्दोलनको विगुल फुक्ने शहीद गंगालाल श्रेष्ठका माईला भाइ हुनुहन्थ्यो। नेपाली समाजको सर्वप्रथम वैज्ञानिक विश्लेषण गर्ने बुद्धिजीवी पनि हुनुहुन्थ्यो क. पुष्पलाल। क. पुष्पलाल नेपाली समाजलाई नयाँ वैचारिक मोड दिने कुशल नेपाली मार्क्सवादी-लेनिनवादी सिद्धान्तकार पनि हुनुहुन्थ्यो। वि.सं. २००५ सालमा क. पुष्पलालले विश्वप्रसिद्ध कम्युनिष्ट घोषणपत्रको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। क. पुष्पलाल नेपाली समाजको पहिलो मार्क्सवादी विश्लेषक हुनुहुन्थ्यो। क. पुष्पलालको विचार र व्यक्तित्वलाई अलग गरेर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास कहिल्यै पनि पूर्ण हुन सक्दैन।
वि.सं. २००६ सालमा राणातन्त्र विरोधी आन्दोलनलाई राजावाद र बुर्जवा सुधारवादको भ्रमबाट मुक्त गर्दै सामन्वाद-साम्राज्यवाद विरोधी आमूल परिवर्तनको दिशामा मुलुकलाई अघि बढाउने उद्देश्यले कमरेड पुष्पलालको पहल कदमी र नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो। राणाविरोधी आन्दोलनको त्यसबेला जनता र राष्ट्रको स्वार्थ र हितको प्रतिनिधित्व गर्दै तत्कालीन मुख्य शत्रु राणातन्त्रको समाप्तिको लागि क. पुष्पलालले ठूलो लडार्इं लड्नुभयो। मार्क्सवाद -लेनिनवादको वैज्ञानिक दृष्टिकोणको आधारमा वर्तमान मुलुकको परिस्थितिको विश्लेषण गर्दा क. पुष्पलालले गरेको योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन कृतज्ञ छ र  रहनेछ।
नेपाली क्रान्तिका सिद्धान्तकार क. पुष्पलालले नेपाली समाजको पहिलोपटक वैज्ञानिक विश्लेषण गर्नुभयो र नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो भनेर मार्क्सवादी ढङ्गले विश्लेषण गर्नुभयो। अर्धसमान्ती र  अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो  भन्ने विश्लेषण गर्दे नयाँ जनवादी क्रान्तिका रणनीति र कार्यनिति सम्बन्धी अवधारणा अगाडि सार्नुभयो। यसैगरी नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम (लक्ष्य) वैज्ञानिक समाजवाद र साम्यवाद हो भनेर सैद्धान्तिकरूपमा घोषण गर्ने पहिलो सिद्धान्तकार पनि क. पुष्पलाल नै हुनुहुन्छ। सिद्धान्त, सङ्गठन र सङ्र्घर्षमा अर्थात तीन ‘स’ को सिद्धान्तमा सधैं जोड दिनुभएको थियो।
राजा महेन्द्रको २०१७ सालको प्रतिगमन ‘कु पछाडि रहेर भूमिगतरूपले पार्टीकाई सङ्गठित र गतिशील बनाउन गरेको प्रयत्नको साथै राजतन्त्रात्मक पञ्च्यती व्यवस्था हटाउन संयुक्त जनआन्दोलनको विकल्प नरहेको ठहरका कारण क. पुष्पलालको दूरदृष्टिको चर्चा आज सम्म पनि गरिन्छ। नेपाली कम्युनिष्ट आन्दोलनमा फुट र गुटको अवस्थालाई हराउन नसकिएको तथ्य बिर्सन वा नकार्न सकिदैन। रायमाझीको निश्कासनपछि आपसमै मौलाएको तुलसीलालको कुन बाटो र पुष्पलालको मुलबाटो नामक विवादले वि. स.ं २०२२ मा नेपाली कम्युनिष्ट आन्दोलन साना-साना टुक्राहरुमा विभाजित हुन पुग्यो। नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः एकीकरण गर्ने क्रममा वि.स. २०३५ साल पुस ११ गते नेकपा (माले ) को गठन भयो। यसरी कम्युनिष्ट आन्दोलन पुनर्गठनको प्रक्रियामा लैजाने क. पुष्पलालको योगदान अतुलनीय छ तर हालसम्म पनि नेपाली कम्युनिष्ट आन्दोलन विभाजनको अवस्थामा छ।
नेपालमा निरङ्कुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्न पहिलो नेता क. पुष्पलाल नै हुनुहुन्छ। क. पुष्पलाले वि.स.२०२५ सालमा अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको धारणा वि.सं.२०४६ मा आएर कार्यान्वयन भएको थियो। यसैको जगमा टेकेर वि.स. २०६२/०६३ को जनआन्दोलनमार्फत नेपालमा राजतन्त्रको उन्मूलन र गणतन्त्रको स्थापना भएको हो। क. पुष्पलाल नेपालको प्रथम गणतन्त्रवादी नेता हुनुहुन्छ। उहाँले राजतन्त्रको समुल अन्त्य र गणतन्त्रको स्थापना हुनेछ भन्ने दार्शनिक प्रकृतिको अवधारणा आजभन्दा  ६२ वर्ष पहिले नै नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा उल्लेख गर्नुभएको थियो।
नेपालमा वाम तथा प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको क. पुष्पकलाल कम्युनिष्ट आन्दोलनको साझा सम्पत्ति र एउटा लोकप्रिय सवोर्च्च व्यक्तित्व हुनुहुन्छ। आज उहाँका योगदानलाई आन्दोलनको महत्त्वपूर्ण सम्पत्तिको रुपमा बचाउन र अघि बढाउन आवश्यक छ। नेपाली कम्युनिष्ट आन्दोलनका त्रिनेत्र वैचारिक विजेताहरु क. पुष्पलाल, क. मदन भण्डारी र क.मनमोहन अधिकारीका सैद्धान्तिक दृष्टा, सृजनशीलता दूरदर्शिता र क्रान्तिकारितामा आज तुषारुपात हुनुहुँदैन। नेपालको मार्क्सवादी र लोकतान्त्रिक आन्दोलनमा हामी धार्मिक ढोंगी भएका छौं। आज हामी धेरैले सिद्धान्त मार्क्सवादी भनेर सुगा रटाइ गर्ने, व्यवहार सामन्तीको गर्ने गछौं। नेपालको कम्युष्टि आन्दोलनको हाम्रो गुरुहरुको  विचारहरुलाई आज दक्षिणपन्थी अवसरवाद र उग्रवामन्थी अतिवादसँग जोड्न खोज्नु विडम्बनापूर्ण छ। आचरण पूरा दुर्गन्धित सामन्तवादी र पूँजीवादी धरातलको छ भने चिन्तन र विचार चाहि के मार्क्सवादी हुनसक्दछ ? यस्तो दुखद् स्थिति अहिले हामी भित्र मौलाउँदै आएको छ। यसको विरोधमा हामी स्वयंभित्रको नवपूँजीवादी र नवसामन्तवादी चिन्तनको विरोधमा मार्क्सवादी संस्कृतिको विकासमा नयाँ आन्दोलन गर्नु जरूरी छ।
क. पुष्पलालले मार्क्सवाद भक्तिवाद होइन यो त  व्यवहारका निम्ति बाटो देखाउने सिद्धान्त हो भन्नुभएको छ। वर्तमान सर्न्दर्भमा हाम्रो पार्टीको नेतृत्व क. पुष्पलालद्धारा प्रतिपादीत तीन ‘स’ को सिद्धान्त ‘सिद्वान्त, सङ्गठन र सङ्र्घर्ष’ लाई जोड दिनु साटो भ्रष्टीकरणमा उद्रत भएको छ। तीन ‘स’ अर्न्तगत सिद्धान्तः आज जनमुखी जवजको कार्यक्रम उग्रवामपन्थी अतिवादलाई भेटी चढाइएको छ, सङ्गठनः सङ्गठनबिना पार्टी नै निर्माण हुन सक्दैन भन्ने पुष्पलालको विचार आज नवपूँजीवादी अवसरबादीहरुको जालोको रूपमा सहर केन्द्रित छ। सङ्र्घर्ष वर्तमानमा हाम्रो नेतृत्वको सङ्र्घर्ष व्यक्तिगत स्वार्थ पूरा गर्ने सत्ता केन्द्रित छ। यही यथार्थतालाई स्पष्ट पार्दा प्रिय नेताहरुले कार्यकर्तालाई पूर्वाग्रहीरूपले नहेरी क.पुष्पलालको सच्चा अनुयायी हुन सक्नुपर्दछ।
क. पुष्पलालले सङ्गठनात्मक जीवनको सर्न्दर्भमा ‘पार्टी नीति प्रध्रान हो, नेता प्रधान होइन’ भन्नुहुन्थ्यो तर आज हाम्रो पार्टीको मुल सिद्धान्त जनवादी केन्द्रियतालाई तोडी दलबन्दी र गुटवन्दीमा जगडिएको छ। जनताको आकाङ्क्षा विपरित काम गर्ने, पार्टीको संस्थागत निर्ण लाई लात हान्ने र जबजलाई सत्ता प्राप्तिको लागि जनताको हित बिपरीत सम्झौता गर्ने रायमाझी चिन्तनले अबको कम्युनिष्ट अन्दोलनको नेतृत्व गर्न सक्दैन। त्यसैले सैद्धान्तिक वैचारिक र व्यवहारिकरूपमा एकमत कायम गरेर क. पुष्पलालले देख्नु भएको बामपन्थी एकताको सपना पूरा गनै पर्दछ। तब मात्र हामीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको ३३ औं स्मृति दिवस मनाउनुको सार्थकता रहला। अन्त्यमा यी महान् व्यक्तित्वप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
by>>>>> darpan_subedi197@yahoo.com

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...