Thursday, February 14, 2019

प्रेमको वार्षिकी


रातको आठ बजेर १५ मिनेटको समयमा तिमिले चौबिसकोठी सडकको लगभग बीचमै उभिएर अनुनयको भावमा हात ठड्याइएकी थियौं । एउटा सुन्दर युवतीले गरेको अनुनयलाई कुल्चने दुष्प्रयास नगरिकनै मैले तिम्रो अगाडि मेरो मोटरबाइक रोकेको थिए । एकदमै आत्तिएको भावमा तिमिले सोधेकी थियौं ‘ तपाई कहाँसम्म पुग्ने हो ?’, मैले म प्रेमबस्ती सम्म भन्ने जवाफ दिए । त्यसक्षण तिम्रो अनुहारको बादल हटेर क्षणभरमै चन्द्रमा उदाएको थियो । किनकी तिम्रो गन्तब्यसम्मकै यात्रामा थिए म । ‘ मलाई बुद्धचोक सम्म लिफ्ट दिन सक्नुहुन्छ, हेर्नुस न १ घण्टा भन्दा अघिदेखि बस कुरिरहेको बस नै आएन । रातको ८ः३० पनि हुन लाग्यो । अब त बस पनि आउँदैन होला’ तिमिले औपचारिकता निभायौं, मैले कुरा नबुझेको होइन । किनकी मैले अघि नै तिम्रो अगाडि मोटरसाइकल रोकेर तिमीलाई लिफ्ट दिइसकेको थिए । तर, अहिले पनि दाबाका साथ के भन्न सक्छु भने मैले एउटी युवतीको लागि मात्र किमार्थ मोटरसाइकल रोकेको थिइन । तर, तिमिले त्यसक्षण के सोच्यौं, जसलाई मैले कहिल्यै जान्न चाहिन ।

 जनवरी १०, २०१८ बिहानको ६ः१५ मेरो कानैनेरको मोबाइलमा म्यासेज टोन आयो । मन नलागे पनि जर्बजस्ती आँखा खोलेर म्यासेज पढे । रोमनमा लेखिएको सन्देशमा ‘तपाई निकै सहयोगी र सरल हुनुहुन्छ । तपाईलाई धन्यबाद’ लेखिएको सन्देश थियो । एउटा अपरिचित नम्बरबाट आएको म्यासेजले धेरैबेर मेरो मन खलबलाइरहयो । सधैं ९ बजेसम्म सुत्ने म त्यसदिन भने ७ बजेसम्म पनि निदाउन सकिन । जसको कारण त्यो म्यासेज थियो वा अरु केही, मैले पत्ता लगाउन सकेको छैन । किनकी म त्यो सन्देशप्रति त्यति उत्साहित थिइन, एउटा अपरिचित नम्बरबाट आएको एउटा म्यासेज प्रति त्यति धेरै उत्साहित हुनुपर्ने कुनै कारणपनि त थिएन । तर, मैले औपचारिकताका लागि भएपनि धन्यबाद लेखरे म्यासेज रिप्लाइ गरे ।
 फेब्रुवरी १४, म धेरैबेर ओछ्यानमै पल्टिरहेथे । हरेक बिहानहरु म सुतेरै बिताउथे । मेरो यो नियम प्रकृतिका बिरुद्धमै होस, मलाई बिहानी निद्रा नशाजस्तै भइसकेको थियो । मेरा परिवार, आफन्त र साथीभाई मेरो यो बानीलाई मेरो प्रगतिको बाधक ठान्छन र गाली गरिरहन्छन र पनि म सुत्नकै मजा लिइरहन्छु ।  बिहानको ९ बजिसकेछ, मैले घडी हेरे । मोबाइल हेरे फेसबुक खोले । ओहो आज त भ्यालेन्टाइन डे (प्रेम दिवस) पो रहेछ । तर, आजसम्म मलाई त्यसको कुनै याद नै रहेन । मलाई भ्यालेन्टाइनको याद हुनुपर्ने कारण पनि थिएन, म भ्यालेन्टाइनका लागि उपयुक्त पात्र पनि होइन । न म कसैसँग प्रेम गर्छु , न मसँग कोही । हुन त हिजोआज भ्यालेन्टाइनमा परिवार र साथीहरुलाई पनि शुभकामना आदान—प्रदानको चलन बढेको छ । तर, म त्यहाँसम्म अलि पुगेको छैन ।
 खाना खाएर बजार तिर निस्किए ।
शहर भ्यालेन्टाइनको मुडमा छ आज, छिमेकिकी छोरी आमासँग ‘मामु आज मलाई ३ हजार त जसरी पनि दिनुपर्छ है, उहाँ साथीहरु भ्यालेन्टाइन पार्टीमा सौराह फुड फेस्टिवल जाने भनिरहेका छन’ भन्दै आमाको अघिपछि गरिरहेकी छ । घरबाट निस्किदा सुने मैले । बाटोमा मोटरसाइकलमा सर्प बेरिएझै युवतीहरु युवकको जीउमा टासिएर भ्यालेन्टाइन सेलिब्रेसनमा छन । घर नजिकैको कस्मेटिक सपमा भ्यालेन्टाइन गिफ्ट र कार्ड किन्नेहरु पनि बाक्लै छन । तर, म भने यि सबै कुराहरु अन्जान बालक झै हेरिराको छु ।
बुद्ध चोक आइपुग्दा मेरो मोटरसाइकल एक्कासि रोकियो । उही केटी जसले मलाई ५ दिनअघि लिफ्ट मागेर हात ठड्याएकी थिइ । अहिले म उसका लागि आफैंले मोटरसाइकल रोकेरे लिफ्ट दिएको थिए । केही असमञ्जस्यका साथ उ मेरो बाइकको पछाडि बसी । म आफ्नै गतिमा मोटरसाइकल चलाइरहे । उ आफ्नै लयमा भरतपुरको दृश्यपान गरिरहि । मैले उसलाई चाहेर पनि सोधिन ‘तपाई कहाँ जाने हो ?,’ उसले भने मलाई चाहेर सोधिन वा नचाहेर सोधिन, मैले जान्न चाहेर पनि उ सँग सोध्न सकिन । बुद्धचोकबाट चौबिस्कोठिसम्म निशब्द उ चौबिस्कोठिबाट बोल्न थाली, क्याम्पसगेट आउँदा खुल्न थाली र लायन्सचोक आउँदा घुल्न थाली । अचम्मको हुन्छ केटीको जात पनि एकैछिनमा पुरै ब्रम्हाण्डै आफ्नो बनाउँछन र एकैछिनमा पुरै ब्रम्हाण्डै अर्काको बनाइदिन्छन ।
उ गैंडाकोटको कुनै बिकास बैङ्ककी क्यासियर हो । घर तनहुँको कुनै गाउँ, बिबिए अन्तिम सेमेष्टरको परीक्षा सकेर फुर्सद मा छे बिहान आजकल । बुद्दचोक बस्छे गाउँकै एकजना दिदिसँग । उसले मलाई यति परिचय गराई, मैले उसलाई मेरो परिचय गराए । पुल्चोकसम्म आइपुग्दा उ मेरो झन नजिक भई, परिचयले मात्र हैन शरीरले पनि । अहिले उ मेरो ढाडमै टाँसिएकी छे , शायद डरले होला, शायद रहरले होला या शायद प्रेमले होला । म कसरी सोधूँ उसलाई । उ गैंडाकोट जाने, म नारायणघट सम्म मात्र । किन किन मैले उसलाई पुल्चोक मै झर भन्न सकिन । उ त मलाई यहि छोड्दिनुस् म अटोमा जान्छु भन्दै थिइ । तर, मैले बाइक नारायणी पुल तर्फ मोडे । गैंडाकोट मा उसलाई छाडेर म नारायणघाट फर्किने बेला उसले मेरो फोन नम्बर मागी, मैले मेरो भिजिटिङ कार्ड उसको हातमा थमाए । उसले न नम्बर दिइ न कार्ड । ‘म हजुरलाई पछि कल गर्छु नि, ओके’, उसले यति भनि ।
म बिरेन्द्र क्याम्पस आए । केटाहरु घुम्न जाने भनेर कुरेका रैछन्, का गाको अहिले सम्म भनेर मुख बिगारे तर, म भने कुन्नि किन हो आज अर्कै भएको थिए । कताकता मनका अन्तर—कुन्तरमा खुशीका किरणहरु सञ्चार भएजस्तो । मन निकै तन्नेरी भएको थिए । बेकारमा त्या आएजस्तो महसुस भएको थियो । एउटी सुन्दर युवती, भ्यालेन्टाइन डे को दिन, सँगैको मोटरसाइकल यात्रा । त्यो सब छाडेर म किन केटाहरु भाको ठाउँमा  आए । कुनै एउटा रोमान्टिक गित गाउँदै सौरहा तिर हानिन पाएको भए पनि कम गजब हुँदैन्थ्यो । तर, मैले उसलाई त्यो अचानकको दोश्रो भेटमा आज अफिस बंक गर भन्न सकिन । दिनको २ बजे उसले मलाई म्यासेज गरी ‘म तपाईलाई पुल्चोकमा साँझ ६ बजे भेटछु, मलाई लिफट दिनुहोला’ । नम्बर भने उही फ्रेवुवरी १० को म्यासेज आएकै नम्बर थियो । मैले बुझे उसले मेरो नम्बर त मैले पहिलो दिन लिफ्ट दिएको साँझ नै लिइसकेकी रहिछ । म साँझ ६ बजे नै पुल्चोकमा थिए । उ ६ः२० मा आई, मेरो बाइकको पछाडि बिनाअनुमति नै बसी र म बिनाअनुमति नै बाइक हुँक्याएर गन्तब्यतर्फ लागे । बाटोमा उसले मलाई धेरै कुरा सोधी र मैले उत्तर दिइरहे, र्यापिड फायर झै गरी । बाइकमै उसले मलाई आई लभ यू भनि र मसँग टाँसिइ । म भने निशब्द बने । शायद यही स्वीकारोक्ति थियो मेरो । मैले कहिल्यै नस्वीकारेको पर्व भ्यालेन्टाइन डे, यही दिन आज म कसैको प्रेममा परे । हामी प्रेममा पर्यौ, एक—अर्काको ।
आखिर यो प्रेम झाँगिदै गयो, हाँगा लहराहरु फैलिदैं गए । भरतपुरका अनेकोै चोकहरु, सौरहा, गोलाघाट्, पार्क हरु, वारीपरिका रिसोर्टहरुमा हामीले यो प्रेमलाई मलजल गर्यौं, गोडमेल गर्यौं । आज हाम्रो प्रेमको वार्षिकी , कति घुम्नु, कति लुटनु जिन्दगीको मजा, कति हराउनु एक अर्कामा, कति सधै बाइकको अघिल्लो सिटमा उसको ड्राइभर भइरहनु मैले । मैले उसलाई भेटेर बिहेको प्रस्ताव गरे । उसले मलाई सोचेर एक हप्ता पछि जवाफ फर्काइ । एउटा निकै छोटो इमेलमा , ‘ बिहे त म डाक्टरसँग पो गर्छु , कहाँ ईन्जिनियर सँग बिहे गर्नु, सरी’ । मैले उसको इमेल कहिल्यै रिप्लाइ गरिन । मेरो साथी सोधिरहन्छ ‘उसको नाम त भन के हो ?’ मेरो उत्तर सधैं एउटै हुन्छ ‘ त्यसको नाम नसोध यार मलाई ।’

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...