मास्टर !
मैले यस कलेज मा मेरोछोरालाई पढाउन
मेरो सानो आम्दानीको ठुलो हिस्सा कटाएको छु
छोरा र छोरी बिचको विभेद भन्ला यो समाज ले
बोर्डिङ्ग पढ्दै गरेका दुइ छोरीहरुलाई मैले सरकारीमा पठाएको छु
यदि महंगीमा बिकेको सस्तो शिक्षाले मेरो छोराको भबिष्य बन्छ भने
बाबु गरिब भएकै कारणले छोराको प्रगति अड्कन्छ भने
म तयार छु,
म तयार छु मेरा थोपा थोपा पसिनाको मूल्य चुकाउन
भारि बर्षामा यी अंग रुझाउन
अनि प्रचण्ड गर्मीमा यी अंग सुकाउन
तर
मेरो छोराले कलेज सकेको भोलिपल्टै
हरियो पासपोर्ट बोकेर लाहुर जाने सपना देख्न नपरोस
यस्तो ज्ञान र उर्जा दिओस तपाइको कलेजले कि
चार पैसा कमाउनकै लागि बिदेशी भुमि टेक्न नपरोस
महंगा ड्रेसमा आधुनिकताको अनुशासन सिकाउने तपाइको कलेजले यस्तो नहोस कि
बुढा बाबुआमाका झुत्रा कपडा भुल्न सिकाओस
मौलिकताको थोरै अनुशासन त मैले पनि सिकेको छु मेरो छोरालाई
यस्तो नहोस कि तपाइको कलेजले संस्कृति भुलेर बिकृति बटुल्न सिकाओस
किसान हु मास्टर!
सानै देखि छोरालाई 'म' बाट मकै र 'ह' बाट हलो नै हुन्छ भन्न सिकाएको छु
यस्तो नहोस कि तपाइको कलेजले बाह्रखरी बिर्साइदिओस
संगै रोपेको घिरैला र फर्सीको लहरा सजिलै छुट्याउन सक्ने बनाइदिएको छु
यस्तो नहोस कि तपाइको कलेज ले गाउको घरबारी बिर्साइदिओस
नसक्ला मेरो छोराले ठुलो प्रगति गर्न विश्व कीर्तिमानी राख्न
कमसेकम आफ्नै पौरखमा बाच्न सिक्ने बनाइदिनुस
महँगो शुल्कमा आर्जन गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र
कमसेकम, कमसेकम बजारमा बिक्ने बनाइदिनुस
No comments:
Post a Comment