Wednesday, September 27, 2017

दशैँ



घरदेखी अलि परको ढिकमा कपडा सिलाउने कल ( सिलाई मेसिन ) राखेर खोल्सामा सान्नानी दाईले मुत्न लाको टाढै बाट देखे । खुशीको सिमाना नै रहेन , चिच्याउदै घर भित्र छिरेर आमालाई सुनाए ।  
‘ आमा सान्नानी दाई हाम्रो घर लुगा सिउन आउदैछन , पैला मेरो सट सिउने है । ’
आमा केही बोल्नु भैन , कपडा सिलाउदा सबै भन्दा पैला सिलाउने रहर यति तिब्र हुन्थ्यो कि मानौ सिलायर सकेकै दिन हाम्रो दशै हुन्थ्यो । नयाँ लुगा लगाउनका लागी हामी दशै कुर्दैनथ्यौ , सिलायर सकेकै दिन लागायर एक फन्को मारिन्थ्यो गाँउको अनि बल्ल दशै आयको जस्तो लाग्दथ्यो । त्यसैलेपनि म मेरा लुगा सबैभन्दा पैला सिलाउन चाहन्थे ।
अस्ति गयको तिजमा दिदीलाई र आफुलाई कपडा सिलायकै कारणले गर्दा होला मौन समर्थन पाईयकै जस्तो भयो । मुखले हुन्च नभनेपनि मनले मेरै कपडा पैला सिलाईदिने योजना बनीसकेको थियो सायद । त्यसैले आमाले केहि भन्नु भयन । घर भित्र बाट परालको गुंद्रो ल्यायर सान्नानी दाई बस्ने ठाँउ बनाई दिय , दराजमा राखेको लुगा मध्य मेरो मात्र निकालेर बाहिर पेटीमा टुसुक्क बसे ।
‘ नमस्ते मास्टरनी , दशै ल्यायर आईगे म त । के गर्दै हुनुन्च भित्र ? ’
सान्नानी दाईले लुगा सिउने कल लाई मैले बिच्छ्यायको गुंन्द्रामा राखेर म छेउ टुसुक्क बस्दै आमालाई नमस्ते सुनाए  । आमा भित्र भान्सोमा भैसीलाई कुडो उमाल्दै हुनुहुन्थ्यो , भित्रैबाट चिच्याउदै भन्नुभयो ‘ नमस्ते जेठा , दशा लागेको बेला केको ल्याउथिस तैले दशै बाबु । ’
सान्नानी दाई मुसुक्क हास्दै मलाई पुलुक्क हेरे , म पनि खिस्स हासे ।
सान्नानी दाई ले कलमा मसिनो धागो छिराउने सुई मिलायको जस्तो गरे , तल तिरबाट खै के निकाले अनि सफा गरे जस्तो गरेर फेरी उहि स्थानमा छिराय । आफ्नो कपडाको झोला बाट सानो तेल दानि निकाले अनि मेसीनका सबै ठाँउमा पिच्च पिच्च तेल हालेर हल्का बनाय । उनकोे कार्य चुपचाप पेटीमा बसेर हेरीरहे , यतिन्जेल आमा बाहिर आउनु भयन ।
‘ ए मास्टरनी , खै कपडा ल्याउनु । सिलाउन सुरु गरौ , अन्त पनि जानु छ । ’
‘ त्यई काले को कपडा पैला सिलाई दिउ बा । जातिबिती गरेको छ । ’ आमाले भित्रबाट भनेको मेरो कानमा गुन्जियो , पेटीबाट जुरुक्क उठेर सान्नानी दाई लाई कपडा बुझाए  ।
सान्नानी दाईले कपडा ओल्टाई पल्टाई हेरे अनि भने ‘ यो त स्कुल ड्रेस हैन र भन्या ? ’
प्रत्येक  दशैमा एक जोर नैया लुगा पाईन्थ्यो , सेतो सट अनि निलो पाईन्ट । दशैको दिनहरुमा लगायो अनि स्कुल खुलेसी त्यही स्कुल ड्रेस पनि भैहाल्ने ,  हामी यसैमा खुशी थियौ ।
सान्नानी दाईले फिताले मेरो कम्मर , पाखुरा सबै नापे । लम्बाई चौडाई सबै । भित्रबाट आमा कराउदै भन्नु भयो ‘ जेठा , अलि ठुलो सिलाईदेस है आईसाल पनि यहि लाउने हो । बर्षेनी किन्दीन सकिन्न नयाँ लुगा । ’
मङ्ग मङ्ग बसाउने काचो कपडाको बासना मलाई अति मन पर्दछ । कलको टिक टिक आवाज , फननन घुम्ने मेसिनको हत्ता सबै हेर्दै दिनभर बस्न मन थियो तर भित्र बाट आमा कराउन थाल्नु भो ‘ बाख्रा फुकायर चराउन लान पर्दैन , त्यही दाई ले लुगा सिलाको हेर्दै बस । ’
म जुरुकक उठे , बाख्रा खोरमा गय । सात वटा बाख्रा लाई पालैपाले फुकाय अनि लागे कान्ते खोला तिर । घरमा सान्नानी दाई ले मेरो लुगा सिलायर सकेकि नाई भन्ने कौतुहलता मनमा पाल्दै ग्वाला बसियो ।
दशैमा लुगाको महत्व धेरै थियो , सिलायर सकेको लुगा राती भयपनि एक पटक लगायरै छाडे , यताँ उता गर्दै हेरे , दिदीले भनि ‘ आहै नि कस्तो स्वायो । ’
म खुशीले गदगद थिय , मानौ आजको रात निद्रा पनि लाग्दैन ।
दशैमा सबैभन्दा महत्व लुगाको हुन्थ्यो त्यो पाईयो । दिनभर काम गरेर थाकेपनि साझ खोरखोरे(लंगुर्बुर्जा) खेल्न बाले सबै लाई पाँच पाँच रुप्पे दिनुभयो । हामी गाउकै चौतारोमा खोरखारे खेल्न पुग्यौ , लालटिनको धिपधिपे उज्यालोमातोयले खेलाउने खेलमा एक रुप्पे बाट खेल सुरु त गरीयो तर कहिले जितेको भयपो आज जितीन्थ्यो । एक एक रुप्पे गर्दै पाचै रुप्पे सकियो , अनि आईयो घर तिर ।
टोलै गन्नाउने छिप्पेको बोका बाँके  बाजेले आगनमै बानेका थिय । मासुको लोभले बोकाको गन्ध सबै बिर्साई दिन्थ्यो । भोली पल्टको अष्टमी का दिन बोका लाई नछिनाल्दा सम्म हामी छिमेकीले बोकाको गन्ध सुङ्गदै बस्नुको बिकल्प थियन । दिनभर बो बो गरेर टोलै थर्काउथ्यो ।
आगनमा आमाले कुभिण्डोलाई काठका खुट्टा बनाई दियर बोका जस्तै बनायर राख्नु भयो , बाले भित्रबाट अलिकती अबिर अनि धुप लियर आउनु भयो । गोबरले लपक्क लिपेको आगनमा त्यही कुभिण्डो लाई बोका उभिय जस्तै उभायर पुजा गर्नु भो अनि बा ले अलि अलि पानी छम्केर मन्त्र पढे जस्तो गर्दै छत्रक्कै छिनाल्नु भो । अनि आमाले हाम्लाई टिका लगाईदिनु भयो ।
‘ खै तमलाई रुप्पे ’
दिदीलाई दक्षिण स्वरुप आमाले दशको नोट दियको मैले देख्ना साथ मैले पनि पाउनु पर्ने  माग गरे । यो कुरामा मलाइ आमाले सधै पक्षपात गर्नु हुन्थ्यो । भन्ने बेला छोराछोरी बराबरी भन्ने तर मलाइ  टिका लायर दक्षिणा  नदिने , दिदीलाई चै देखाई देखाई दश बिस रुप्पे दिने ।
‘ त छोरा मान्छे होस , तलाई दक्षिणा दिन पर्दैन । ’
आमाले सधै भन्ने यहि शब्द आजपनि दोहरीयो , तर मैले माग्न छाडेन र भन्दिय ‘ अँ म त छोरो हैन नि त , त्यही मात्र हो तिम्री प्यारी छोरी । ’
आमाले खाउला झै गरेर हेर्नु भो , म रिसाउदै निस्किय ।
बा ले दशैको राम्रो ब्याख्या गर्नु हुन्थ्यो , धनिलाई दशै , तर गरीबलाई दशा भनेर । वास्तबमै हो रहेछ । कुभिण्डोलाई बोका बनायर घर बाहिर घुम्न निस्कियको मैले बाँकेको घरमा त्यो गन्नाउने बोको काटेर पोल्दै गरेको देखे । अरे बाफरे , कम्ता मिठो बासना त थियन त्यो पोल्दै गरेको बोकाको बासना । हिजो जिउदै पनि गनाउने , आज मरेपछि पनि गनाउने बोकाको जातै गनाउने ।
‘ ओए , उताँ जा । चोखे लाग्ने जसरी हेरेको छ , भाग त्याँ बाट । ’
पोल्दै गरेको बोकालाई एक सुरे भयर हेरेर घुटु घुटु थुक निल्दै गरेको मलाई बाँकेको नातिले नराम्ररी थर्कायो । खुरुक्क आफ्नो बाटो लाग्दै त्यसलाई जानेको जति  सरापे ।
गाँउका हरेक जसो घरमा बोका ढालियका थिय , तर हाम्रो घरमा बोकाको रुपमा कुभिण्डो ढालीयको थियो । अरुको घरमा बोकाको मासु पाक्यो , तर हाम्रो घरमा कुभिण्डाको झोल पाक्यो ।
छिमेकका अंकलको घरमा पकाको मासुको बासना यति तिब्र आउदै थियो कि कुभिण्डाको झोल र भात घाटीबाट छिर्दै छिरेन । मैले खानामा ल्याङ्ग ल्याङ्ग गरेको देखेर आमाले हकार्दै भन्नु भो ‘ खाने मन भय खा , नत्र जुरुक्क उठेर जा । भोक भयपो भोजन मिठो मान्थिस । ’
भोक त कति मानेको थिय तर पापी मासुको बासना नाकैमा परेसी त आमाले भनेको ठिक उल्टो भयो भोजन मिठो भय पो छिर्नु ।
‘ बा साझ त मासु ल्याउनु है । ’ भात खादै गर्दा बा लाई आग्रह गरे । मासु प्रतीको रुची मलाई मात्र नभयर सबैलाई थियो तर दशै भन्दैमा तिन दिन मासु खाने हैसीयत हाम्रो थियन ।
‘ आज ल्याउदैन , भोलि बेलुका बुच्चे डाडामा  खसी काटने हुन रे । त्यही भनेको छु एक किलो । ’
‘ दशैमा जम्मा एक किलो ? ’
दिदी बोली , बा चुप्प लाग्नु भो , आमा खौकिनु भो ‘ घाटी हेरेर हाड निल्नु पर्च । धेरै खान मन भय आफ्नै मासु काटेर खा । ’
दिदी चुप लागी , बा हास्न थाल्नु भयो । मलाई रिस उठदै थियो ।
खाने पिने दिन मा पनि अडकलेर अनि पु्र्यायर खानु पर्ने , मान्छेहरु दैनीक एक छाक मासु नहुदै खानानै खादैनन तर हाम्रा लागी माछामासु खान चाडपर्व नै कुर्नु पर्ने । चाडपर्वमा पनि अघाउन्जेल खान नपाईने , चाख्न पाईने भन्दा पनि फरक नपर्ला ।
‘ बा , पर्सी दशैको दिन सम्मलाई त एक किलो मासुले अलि पुग्दैन होला । तपाई त भस्मे कन्जुस हुनुन्च । ’
दिदीले हकारी मागेपछि चुप लागेपनि मैले फेरी बा लाई दवाब दिन थाले , तर दवाब दिने शब्द अलि मन दुख्ने बोलेछु क्यारे । बा घोसे मुन्टो लायर भात खानु भो ,अनि केही नबोली बाहीरीनु भो ।
बा बाहीर जानासाथ आमाले मलाई हकार्र्दै भन्न थाल्नु भो ‘ जाबो मासुका लागी बाको मन दुखाईस नि । अबस्था के छ बुझ्नु छैन , बा लाई कन्जुस भनिस । आफ्ना छोराछोरीले पेटभरी खाउन भन्ने कस्को मन हुदैन र तर घरको अबस्था नबुझि बा लाई कन्जुस भन्ने हिम्मत गरीस पापी । ’
साचैनै बाको मन दुखाय जस्तो लाग्यो , हैसीयत नहुने हाम्ले जमिन्दार र हल्दारको घरमा मनाउने जस्तो धुमधामले दशै मनाउन सकिदैन जस्तो लाग्यो । बा सँग माफी मागेर औकात अनुसारकै दशै मनाउने रहर जाग्यो ।
‘ बा , भो दशै दशै जस्तो गरेर मनाम । तर दशै मनाउदा दशा लाग्ने गरी नमनाउ । हामी एक किलो मासुमै खुशी छौ , तर ऋण गरेर मनायको दशैे हामी खुशी हुदैनम । ’
बा खिस्स हास्नु भो , बाको हासोमा दशै भन्दा ठुला पर्वहरु देखीय । बा को हासो नै मासु भन्दा मिठो लाग्न थाल्यो । बा लाई पिडामा पारेर दुई चोक्टा मासु धेरै खानु भन्दा कुभिन्डोको  झोेल भातनै मिठो सोच्न थाले ।


"दशैँ  दशा नबनोस् सबैलाई दशैँको शुभकामना "

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...